प्रदेश १ ले आज पाउला त नाम?



काठमाडौं। गठन भएको पाँच वर्षपछि प्रदेश १ को संसद्ले आफ्नो प्रदेशको नामाकरण गर्न लागेको छ।

प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्तावसहित आजको प्रदेशसभा बैठकमा प्रस्ताव पेस गर्ने तयारी छ। प्रदेश १ को नाम यही अधिवेशनबाट टुङ्गो लाग्ने पक्कापक्की भएको बताइन्छ।

कोशी प्रदेश राख्नेमा सत्ता पक्ष र विपक्षी दलहरुबीच सहमति भइसकेको सत्तागठबन्धनका नेताहरूको दाबी छ।
अघिल्लो संसद्मा प्रदेशको नामकरणको विषयमा टुङ्गो लगाउन दलहरुबीच पटक पटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको थिएन।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा र जसपाबीच केन्द्रका शीर्ष नेताहरूको सहमति र सुझावको आधारमा ‘कोशी’ नामकरण गर्ने सहमति भएको स्रोत बताएको छ।

प्रदेशको नामकरणको टुङ्गो लगाउन प्रदेशसभाको दुई तिहाइ मत चाहिन्छ। प्रदेश १ मा ९३ जना सांसद् छन्। दुई तिहाइ पुग्न ६३ जना सांसद चाहिन्छ ।

प्रदेश १ प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन्। सत्तापक्ष र विपक्षमा विभाजित हुँदा कसैको पनि दुई तिहाइ मत पुग्न सक्ने सम्भावना कम रहेको कारण सर्वसहमतिमा नामकरणको टुङ्गो लगाउने तयारी गरिएको नेताहरू बताउँछन्।

Tags :

प्रकाशित: १७ फाल्गुन २०७९, बुधबार ०९:४५