रास्वपालाई सरकारमा सहभागी गराउने बिषयमा काँग्रेस -माओवादी बिच विवाद



काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउने प्रधानमन्त्री प्रचण्डको योजना रहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बिहान पार्टीका शीर्ष नेतासँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले रास्वपालाई पनि सरकारमा सहभागी गराउने सङ्केत दिएको बिफ्रिङ गरेका थिए ।

रास्वपा सरकारमा सहभागी भए तीन मन्त्रालय पाउने निश्चित छ । यसअघि पनि रास्वपा उपप्रधान तथा गृहमन्त्रीसहित तीन मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी भएको थियो । कांग्रेस भने रास्वपालाई सरकारमा सहभागी गराउन नहुने पक्षमा देखिन्छ ।

रास्वपा सभापति रवि लामिछानेले राहदानी मुद्दा मिलाइदिए सरकारमा सहभागी हुने प्रधानमन्त्री प्रचण्डलाई बताएको स्रोतको दाबी छ । यस विषयमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसका नेताहरूसँग पनि छलफल गरेको पाइएको छ । कांग्रेसका नेताहरूले रविको मुद्दा मिलाउने मामिलामा नलाग्न सभापति देउवालाई सुझाव दिएका छन् । पछिल्लो समय रवि लामिछाने र प्रधानमन्त्री प्रचण्डबीच सरकारमा सहभागिता र रविको राहदानी मुद्दाबारे छलफल भइरहेको बालुवाटार स्रोतको दाबी छ । माघ २२ मा सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

गत आइतबार बसेको रास्वपा बैठकले प्रचण्ड सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको थियो । पुनः सरकारमा फर्किने प्रचण्डसँग सहमति गरेर माघ २२ मा रास्वपा सरकारबाट बाहिरिएको चर्चा थियो ।

प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार ०६:५२