आठ दलीय गठबन्धनको यस्तो छ प्रदेश सरकारको सहमति



काठमाडौ । आठ दलीय गठबन्धनभित्र सरकारबारे प्याकेजमै सहमति हुने भएको छ । सात प्रदेशमध्ये ४ प्रदेश सरकारको निरन्तरता हुने सहमति गठबन्धनमा भइसकेको छ । जसपा नेतृत्वको मधेस, माओवादी नेतृत्वको बागमती, कर्णाली र कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले निरन्तरता पाउने छ । एमाले नेतृत्वको कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सरकार निर्माणका लागि गठबन्धनमा सहमतिको प्रयास भइरहेको छ । सातमध्ये चार प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसको दाबी छ । पुस १० मा सात दलीय गठबन्धन हुँदा एमालेले पाएका चार प्रदेशको नेतृत्व हत्याउने कांग्रेसको रणनीति छ । एमाले नेतृत्वको सरकार ढलेपछि सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार छ । गण्डकी र लुम्बिनीमा कांग्रेस नेतृत्वको सरकार बन्नेमा खासै समस्या नरहेको कांग्रेस नेताहरू बताउँछन् ।

गण्डकीमा एमाले सरकार ढल्दा प्रदेशसभाको सबैभन्दा ठुलो दलको हैसियतले कांग्रेसको नेतृत्वमा स्वतः सरकार बन्ने छ । लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढलेपछि पुनः एमाले नेतृत्वको सरकार बन्ने सम्भावना छ । प्रदेशसभाको ठुलो दलको हैसियतले एमालेले एक महिना सरकारको नेतृत्व गरेर त्यो सरकारले विश्वासको मत लिन नसकेपछि मात्र त्यहाँ आठ दलीय गठबन्धनको सरकार बन्ने देखिन्छ ।

कोशी प्रदेशमा पनि एमाले सरकार ढाले पनि नयाँ सरकार बनाउन झमेला छ । यहाँ कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनलाई सरकार बनाउन सभामुखको भूमिका निर्णायक हुने देखिएको छ ।

कोशी प्रदेशमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच पहिलो चरण सरकारको नेतृत्वका लागि हानथाप छ । केन्द्रीय सरकारको सहभागिताको अवस्था हेरेर प्रदेशमा मुख्यमन्त्री र मन्त्रीको भागबण्डा हुने कांग्रेसका एक पदाधिकारीले बताए ।

एकीकृत समाजवादीको ‘अस्वाभाविक दाबी’लाई कसरी मिलाउने भन्नेमा कांग्रेस र माओवादीबीच एक तहमा छलफल हुने उनको भनाइ छ । ती पदाधिकारीका अनुसार बागमती, कर्णाली र सुदूरपश्चिममा एकीकृत समाजवादीले आलोपालोको दाबी गरेको छ ।

प्रकाशित: १८ फाल्गुन २०७९, बिहीबार १०:१९