दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि युएईमाथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपाली युवा टोली यू–१९ क्रिकेट विश्वकपका लागि छनोट भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले युएईलाई एक सय ९२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको युएई ४८ ओभरमा एक सय ८४ रनमा अलआउट भयो ।
युएई जितनजिक पुगिसकेकाले लगातारका तीन बलमा तीन ब्याटरलाई आउट गर्दै दीपेश कँडेलले युएईबाट विश्वकपको यात्रा खोसेका थिए । नेपाल पराजित भएको भए युएई विश्वकपमा सीधै छनोट हुने थियो ।
नेपालको जितमा दीपेशसँगै कप्तान देव खनालको महत्वपूर्ण योगदान रह्यो । पहिले ब्याटिङ गरेको नेपालले सुरुवातबाटै विकेट गुमाएको थियो । यस्तोमा देवले ५१ रनको महत्वपूर्ण इनिङ खेलेपछि नेपाल ‘फाइटिङ टोटल’सम्म पुगेको हो । नेपाल ४८.५ ओभरमा अलआउट भएको थियो ।
आजको जितसँगै नेपालले दुई वर्षअघिको हारको बदला पनि लिएको छ । सन् २०२० मा दक्षिण अफ्रिकामा भएको विश्वकपका लागि निर्णायक छनोट खेलमा नेपाल युएईसँगै एक रनले पराजित भएको थियो । त्यसवेला डकवर्थ लेबिस नियमका आधारमा नेपालले पराजय व्यहोरेको थियो ।
त्यसअघि पनि सन् २०१६ मा नेपाल निर्णायक खेलमा अफगानिस्तानसँग पराजित भएपछि छनोट हुन असफल भएको थियो ।
१९ वर्षमुनिका खेलाडीहरूको विश्वकप प्रतियोगिता अर्को वर्ष श्रीलंकामा आयोजना हुनेछ । सन् २०१६ पछि नेपालले पहिलोपटक उमेरसमूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।
प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार ०५:५४