नेबि संघका अध्यक्ष शेर्पाको राजीनामा माग्दै शेखर समूहले खटायो केन्द्रीय प्रतिनिधि



7काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाको राजीनामा माग्दै आएको शेखर समूहले स्वतन्त्र विद्यार्थी युनियनका लागि बेग्लै केन्द्रीय प्रतिनिधि खटाएको छ । संघका अध्यक्ष शेर्पाले जिल्ला अध्यक्ष मनोनिति गर्ने र स्वतन्त्र विद्यार्थी युनियनका लागि केन्द्रिय प्रतिनिधि एकलौटी रुपमा पठाएपछि शेखर समूहका बिद्यार्थीहरुले राजिनामा माग्दै स्वतन्त्र विद्यार्थी युनियनका लागि बेग्लै केन्द्रीय प्रतिनिधि खटाएको बिद्यार्थी नेताले बताएका छन् । पार्टीले संघको केन्द्रिय समिति निमार्ण गरेपछि थप विवाद आएको उनीहरुको भनाई छ ।

केही दिनअघि नेपाल कमर्स क्याम्पसमा शेर्पाकै उपस्थितिमा शेखर समूहका विद्यार्थीहरूको भेला बिथोलिएको थियो ।फागुन १७ गत बसेको नेविसंघका नेताहरूको बैठकले काठमाडौं उपत्यकाभित्रका ३५ वटा क्याम्पसमा स्ववियु निर्वाचन प्रयोजनका लागि संगठन दर्तालगायतका काम गर्न केन्द्रीय प्रतिनिधि खटाएको हो । जस अनुसार त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा प्रवीण कैनीलाई खटाइएको थियो । संस्थापन पक्षले कैनीलाई रोक्ने क्रममा बिहीबार विश्वविद्यालयमा नेविसंघका दुई पक्षबीच झपड हुँदा विद्यार्थी नेता शिव रिमाल गम्भीर घाइते भएका छन् । अध्यक्ष शेर्पाले गुण्डा लगाएर कुटाएको आरोप शेखर समूहका नेताहरुको छ । सो समूहले पद्मकन्यामा करिना पुरी, त्रिचन्द्रमा सुवास पौडेल, शंकरदेवमा विष्णुहरी खड्कालगायतका विद्यार्थी नेताहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको छ । चैत ५ मा हुने स्ववियु चुनावका मुखमा नेविसंघमा विवाद देखिएपछि पार्टीले हस्तक्षेप गर्ने भएको छ ।

प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार १२:१६