काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
उक्त रिट निवेदन दर्ता नगर्ने अदालत प्रशासनको निर्णयलाई बदर गर्दै सर्वोच्चले रिट निवेदन दर्ता गर्न आफ्नै प्रशासनलाई आदेश दिएको हो।
३ वर्षअघि प्रचण्डले एक कार्यक्रममा द्वन्द्वकालमा मारिएका ५ हजारको मात्र आफूले जिम्मा लिने बताएका थिए।
१ माघ २०७६ मा टुँडिखेलमा दिएको उक्त अभिव्यक्ति विरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायतले प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिए पनि सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न मानेको थिएन।
राजनीतिक प्रकृतिको अभिव्यक्तिमा टेकेर रिट दर्ता गर्न नमिल्ने दरपीठ आदेशका विरुद्ध निवेदकहरू सर्वोच्च अदालतमा अर्को निवेदन लिएर गएका थिए।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फूयालको संयुक्त इजलासले निवेदन दर्ता गर्न आदेश दिएसँगै निवेदकहरूले आइतबार निवेदन दर्ता गराउने बताएका छन्।
प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार २०:३०