काठमाडौं। नेपाल प्रहरीले होलीलाई व्यवस्थित तरिकाले मनाउन आग्रह गरेको छ। सोमबार पहाडी क्षेत्र र मङ्गलबार तराई क्षेत्रमा होली मनाइँदैछ।
होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको छ। होलीलाई व्यवस्थित गर्न यसपालि पनि प्रहरीले विशेष सुरक्षा योजना लागू गर्दैछ।
इच्छा विपरीत रङ्ग वा लोला हानेमा पक्राउ गरेर मुद्दा चलाउने प्रहरी वरिष्ठ उपरीक्षक एवम् सहप्रवक्ता दिपेन्द्र जीसीले चेतावनी दिएका छन्।
होलीलाई व्यवस्थित र सभ्य बनाउन सादा पोशाकका प्रहरी समेत परिचालन गर्ने योजना रहेको छ।
अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ। यस्तै, कसैले इच्छा विपरीत रङ्ग लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिएमा पनि उजुरी गर्न प्रहरीले आग्रह गरेको छ ।
ट्राफिक प्रहरीसँगको सहकार्यमा सुरक्षा जाँचलाई कडाइ गरिनेछ । मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य लगाउन, तीन जना नचढ्न र जाँडरक्सी वा लागुपदार्थ खाएर गाडी नचलाउन प्रहरीले आग्रह गरेको छ।
प्रकाशित: २१ फाल्गुन २०७९, आईतवार १०:४९