काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’ लाई पितृ शोक परेको छ । उनका पिता लोकगायक राजेन्द्र लम्सालको हिजो निधन भएको हो । पारिवारिक स्रोतका अनुसार लम्साल लामो समयदेखि स्पेनमा बस्दै आएका थिए । उनी कलेजोको समस्याबाट पीडित थिए । करिब डेढ वर्ष अगाडि नेपाल आएर उनले हिमाल हस्पिटलमा उपचार गराएको बुझिएको छ । हिजो राति उनको स्पेनमा नै उपचारका क्रममा निधन भएको हो ।
लम्साल पुरानो पुस्ताका लोक गायक हुन् । उनले गाएका ‘वालिङ फिरफिरे‘, म्याग्दी खोला किनारै बसेर‘, आमा तिम्रो दूधको धारा कहिले तिरिन्छ‘, सिरमा रिबन सलको पछ्यौरी‘, पारी पर्यो भिर साह्रै पर्यो पिर‘, लगायतका गीतहरू चर्चित थिए । उनले रेडियो नेपालबाट करिब पाँच दर्जन लोकगीत रेकर्ड गराएका छन् । उनले प्रेमराजा महत, अमर विरही गुरुङ, बमबहादुर कार्की लगायत गायकहरूसँग गीत गाएका थिए ।
प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार ०८:००