नेपाल र पीएनजीको खेल आज, विश्वकप छनोटको सम्भावना जोगाउने प्रयास



काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिदेशीय शृङ्खला आज विहीबारदेखि सुरु हुँदैछ।

शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी पीएनजीसँग खेल्दैछ। खेल विहान साढे ९ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा सुरु हुँदैछ।

विश्वकप लिग २ को शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ। यस्तै एकदिवसीय मान्यता जोगाइ राख्न चार मध्ये कम्तिमा दुई वटा खेल जित्नुपर्नेछ।

घरेलु मैदानमा नै पीएनजीसँग गतवर्ष भएको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दुवै खेलमा नेपाल पराजित भएका थियो। तर यसै हप्ता यूएईमा भएको शृङ्खलामा भने दुवै खेलमा नेपालले हराएको छ।

यस खेलमा भने नेपाललाई जित अति आवश्यक रहेको छ। पीएनजीसँग समग्रमा ८ एकदिवसीय अन्तराष्ट्रिय खेलेकोमा ६ खेल नेपालले जित्दा २ खेलमा भने पीएनजी विजयी भएको छ।

मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ। मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ। विश्वकप लिग २ को अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ।

नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। पपुवा न्युगिनि ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ।

Tags :

प्रकाशित: २५ फाल्गुन २०७९, बिहीबार ०८:०३