काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्दैन भन्न नसकिने बताएका छन्। आज राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्ने बताए । उनले आगामी राष्ट्रपतिबाट देशको हितको रक्षा, सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसाबले देशको अभिभावकको भूमिका बहन गर्नसक्ने विषय आवश्यक रहेको बताए ।
उनले यसअघिका राष्ट्रपतिको आलोचना गर्नेहरूले संकीर्ण स्वार्थ बोकेकाे बताए । सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगरेको भन्दै राष्ट्रपतीय प्रणालीलाई नै मन नपराउने, जन्मिँदै श्रेष्ठ भनेर जस्तो भए पनि पुज्ने बानी परेका र संकीर्णताका काम गर्नेहरूले देशका लागि अडेर काम गरे भनेर विरोध गरेकाे बताए।
प्रकाशित: २५ फाल्गुन २०७९, बिहीबार १५:४८