अष्टलक्ष्मीले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरिन्



काठमाडौं। नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छिन्।

शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर शाक्यले उम्मेदवारी दर्ता गरेकी हुन्।

शाक्यको प्रस्तावमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुविर महासेठ रहेका छन् । त्यस्तै समर्थकमा भने कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल,भगवती न्यौपाने र यशोदा रिजाल रहेका छन्।

राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ताका लागि ५/५ जना संघीय तथा प्रदेश सांसदहरू प्रस्ताव र समर्थक बस्नुपर्ने कानुनी प्रावधान छ।

उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेकी शाक्य वाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्रीसमेत हुन्। शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

सत्ता गठबन्धनबाट भने जनमत पार्टीले ममता झा र जसपाले रामसहायप्रसाद यादव र प्रमिला यादवलाई उम्मेदवार बनाउने बताएका छन्।

निर्वाचन आयोगले शनिबारका लागि उपराष्ट्रपतिको मनोनयन पत्र दर्ता गर्ने समय तोकेको छ। शनिबार बिहान ९ बजेदेखि २ बजेसम्मलाई मनोनयन दर्ताको समय तोकिएको छ।

आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। त्यस्तै चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ।

Tags :

प्रकाशित: २७ फाल्गुन २०७९, शनिबार १३:२०