प्रचण्डविरुद्ध मुद्दा परेपछि आत्तिएका माओवादी घटकले पत्रकार सम्मेलन गर्ने



काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा परेपछि एक ठाउँमा उभिएका माओवादी धारका पार्टीहरूले आज संयुक्त अपिल जारी गर्दै छन्।

द्वन्द्वकालीन घटनाका आधारमा प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दर्ता भएपछि सशंकित भएका नेताहरूले संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन्।

विस्तृत शान्ति समझौताविपरीत द्वन्द्वकालीन मुद्दा ब्यूँत्याउन लागेको भन्दै प्रतिवादमा उत्रिने निर्णय गरेका उनीहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन्।

माओवादी घटकहरूले आज दिउँसो २ बजे कमलादीस्थित प्रज्ञा भवनमा पत्रकार सम्मेलन गर्दै छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यही फागुन २६ गते दोस्रोपटक बसेको उनीहरूको बैठकले आज २८ गते संयुक्त पत्रकार सम्मेलन र ३० गते द्वन्द्वकालीन मुद्दासँग सम्बन्धित नागरिकसँग अन्तर्क्रिया गर्ने निर्णय गरेको हो।

उनीहरूबीच यसअघि फागुन २३ गते बालुवाटारमै छलफल भएको थियो र विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरिएको थियो।

आज गरिने संयुक्त पत्रकार सम्मेलनबाट संयुक्त अपिल जारी गर्ने र केही दिनमै समाजवादी मोर्चा बन्ने माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै उनले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टको बृहत्तर एकताका निम्ति बहस सुरु गरिने बताए।

Tags :

प्रकाशित: २८ फाल्गुन २०७९, आईतवार ०९:३२