काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईसँगको खेलमा नेपालले टस जितेको छ।
त्रिवी क्रिकेट मैदानमा नेपाल टस जितेर ब्याटिङ रोजेको छ।
नेपालले आजको खेलमा ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ। मल्ल र केसीको ठाउँमा ललितनारायण राजवंशी र गुलशन झालाई खेलाएको छ।
यसअघि यूएईमै भएको शृङ्खलाका दुई खेलमध्ये नेपालले यूएईलाई एक खेलमा हराएको थियो भने एक खेलमा पराजित भएको थियो।
कीर्तिपुरमा जारी शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी पीएनजीलाइ हराएको छ।
एकदिवसीय मान्यता कायम राख्न अब नेपालले तीन खेलमध्ये १ खेल जित्नुपर्ने हुन्छ। आजको खेल जितेमा नेपालले एकदिवसीय मान्यता जोगाउन सफल हुनेछ। अबका तीन खेलमध्ये एक खेल हारेको खण्डमा नेपालले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ ।
यस्तै, नेपालले सोझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै छ । नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन/जुलाईमा जिम्बावेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी ३ वटै खेल जित्नुपर्ने हुन्छ ।
यूएईले लिग–२ को शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोट खेल्ने सम्भावना सकिएको छ । यूएई ३३ खेलमा ३१ अङ्कसहित लिग–२ तालिकाकाे छैटौँ स्थानमा छ । एकदिवसीय मान्यता कायम राख्न तालिकाको शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ । पीएनजी ३४ खेलमा ११ अङ्कसहित तालिकाको पुछारमा छ । नेपाल ३३ खेलमा ३४ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।
कीर्तिपुरमा भइरहेको नेपाल, यूएई र पीएनजी सम्मिलित शृङ्खला लिग–२ को अन्तिम शृङ्खला हो । लिग–२ का शीर्ष तीन टोलीले सोझै विश्व कप छनोट खेल्न पाउँछन् ।
स्कटल्यान्ड ५० अङ्कका साथ विजेता बन्दै र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्व कप छनोटमा पुगेका छन् । बाँकी एक स्थानका लागि अब नेपालसहित नामिबिया प्रतिस्पर्धामा छन् । नामिबिया ३६ खेलमा ३९ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।
प्रकाशित: २८ फाल्गुन २०७९, आईतवार ०९:३८