जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको भन्ने आरोप तथ्यहीन र निराधार : पूर्वमन्त्री न्यौपाने



काठमाडौं। पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही रहेको आरोप लगाएका छन्। विशेष अदालतले उनलाई जरिवानासहित कैद फैसला गरेको थियो। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्वमन्त्री न्यौपानेले यो गुनासो गरेका हुन्।

भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट ९ वर्ष ६ महिना कैद सजाय सुनाइएका पूर्वमन्त्री न्यौपानेले आफ्नो राजनीति सिध्याउन पूर्वाग्रही फैसला आएको आरोप लगाए।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएका कारण एकै व्यक्तिलाई ३ वटा सजायसँगै बिगो जरिवाना ९ वर्ष ६ महिना कैदसहित पूर्वाग्रही ढंगले विशेष अदालतले निर्णय गरेको बताए।

समाज कल्याण परिषद्ले कार्यसमितिबाट निर्णय गरेर जग्गा भाडामा लगाउने गरेको भए पनि आफूले फुल बोर्डको बैठक राखेको र मन्त्रिपरिषदमा समेत प्रस्ताव लगेको दाबी गरे। पूर्वमन्त्री न्यौपानेले भाडामा लगाउने निर्णय गर्ने प्रक्रियामा सहभागी ५ जना उपसचिवलाई सफाइ दिएको, तर आफूलाई ९ वर्ष ६ महिना कैदको फैसला गर्नु पूर्णरूपमा पूर्वाग्रही भएको जिकिर गरे।

उनले आफू सुकुम्बासी जस्तै देशभर कतै जग्गा नरहेको र बैंक ब्यालेन्स पनि नरहेकाले अदालतको जरिवाना तिर्न नसक्ने पनि बताए। ‘विशेष अदालतले मलाई न्याय दिन्छ भन्ने लागेको थियो।

थुनछेक बहसमा साधारण तारिखमा २ लाखसम्मको पैसामा छोड्ने भनेको थियो’ उनले भने–‘तर, विशेष अदालतले बिगो जरिवाना र ९ वर्ष ६ महिना कैदसहित पूर्वाग्रही ढंगले फैसला सुनायो।’ उनले अदालतलाई सम्मान गर्दै फैसला स्वीकार गर्नेबाहेक अन्य अवस्था नभएकाले स्वीकार गर्नु आफ्नो कर्तव्य भएको बताए।

समाज कल्याण ऐन, २०४९ को दफा ५ को १ र २ बमोजिम परिषद्को सर्वोच्च निकायले जग्गा भाडामा दिनेगरी निर्णय गरेकाले सोही बमोजिम ऐनको दफा १० अनुसार कार्यसमितिको निर्णय गरी भाडामा लगाउँदा परिषद्लाई नोक्सानी र आफू समेतलाई फाइदा हुनसक्ने अवस्था कहीँ कतैबाट नदेखिने उनले बताए।

Tags :

प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार १४:२०