काठमाडौं। महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित सर्वोच्चमा पेस गरिएको रिट मंगलबार दरपिठ भएको छ। राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति पदमा महिला नै हुनुपर्ने मागसहित अधिवक्ता राधिका खतिवडाले सोमबार अदालतमा रिट पेस गरेकी थिइन् ।
सो रिटको अध्ययनपछि रजिस्ट्रारको आदेशबाट दरपिठ भएको जानकारी दिइएको छ। यसअघि आइतबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले १० दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम गरेको थियो।
निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले उनको उम्मेदवारी पनि कायम रहने बताएका थिए। उम्मेदवार यादवको उम्मेदवारीमा नेकपा एमाले र जनमत पार्टीबाट दाबी विरोध परेको थियो।
प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार १४:३९