काठमाडौं। काठमाडौं महानगपालिकाले ठमेल क्षेत्रमा निर्माण स्वीकृति नलिई निर्माण गरेका घर टहरा खाली गर्न सूचना जारी गरेको छ ।
बुधवार गोरखापत्रमा १५ दिने सूचना प्रकाशन गर्दै महानगरपालिकाले ‘नक्सा पास नगरी निर्माण भएका घर टहराहरूमा व्यवसाय सञ्चालन गरी आएका व्यवसायीले करिब २ वर्षदेखि भाडा रकम नतिरी, जबर्जस्ती स्थान ओगटी भाडा रकम माग्दा विभिन्न धाक धम्की दिएको’ उल्लेख गर्दै १५ दिनभित्र महानगरपालिकाको २६ नम्बर वडा कार्यालयमा उपस्थित हुन भनिएको छ ।
प्रकाशित सूचनामा ‘यस वडाअन्तर्गत गोङ्गबु स्थित गल्फ रियल स्टेट प्राविको नाममा दर्ता कायम रहेको कि.नं. २२७, ७७, २९०, २९२, २९४, २२४, २२६, २९५ र ७९ मा नक्सा पास नगरी निर्माण भएका घर टहराहरूमा व्यवसाय सञ्चालन गरी आएका व्यवसायीले करिब २ वर्षदेखि भाडा रकम नतिरी, जबर्जस्ती स्थान ओगटी भाडा रकम माग्दा विभिन्न धाक धम्की दिएको तथा नेपालको संविधान प्रदत्त सम्पत्तिसम्बन्धी हक उपभोग गर्नबाट जग्गा धनी वञ्चित हुन पुगेको’ समेत भनिएको छ।
काठमाडौं महानगरपालिका घर बहाल व्यवस्था निर्देशिका २०७९ को दफा २७ उपदफा ३ बमोजिम निम्न व्यवसायीहरूलाई यस कामपा २६ वडा कार्यालयमा १५ दिनभित्र उपस्थित हुन अनुरोध गरिन्छ भन्दै घर टहरामा व्यवसाय सञ्चालन गर्ने २६ जना व्यक्ति तथा संस्थाको नामसमेत सार्वजनिक गरेको छ।
न्यु बेबील्यान्ड, माइक्रोबस समितिदेखि लक्की सुज, ब्युटिपार्लर र खाजा घरसमेत विभिन्न व्यक्तिको नाम सार्वजनिक भएको छ।
प्रकाशित: १ चैत्र २०७९, बुधबार १२:५२