दुवईमा समाएको चौधरीलाई प्रहरीले लग्यो हत्या गरेको स्थानमा



काठमाडौ । नेपालमा हत्या गरेर यूएई भागेका व्यक्ति पक्राउ परेका छन्। कपिलवस्तुको भृकुटी नगरपालिका ७ का २३ वर्षीय शिव शरण चौधरीलाई इन्टरपोलको सहयोगमा दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको हो। उनलाई पक्राउ गर्न इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो। कपिलवस्तु बुद्धभूमि नगरपालिका ४ बस्ने ६६ वर्षीय गंगाराम थारुलाई २०७६ साउन ७ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। घटनामा संलग्न रही फरार रहेका उनलाई एनसीबी काठमाडौंको अनुरोध तथा एनसीबी अबुधाबी युएईको सहयोगमा युएईबाट पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ। घटना पश्चात शिव शरण चौधरी फरार भई युएई बसेको अनुसन्धानको क्रममा खुल्नआएपछि ईलाका प्रहरी कार्यालय, गोरुसिंगे, कपिलवस्तु मार्फत नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा पत्राचार गरिएको थियो। चौधरीको अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टपरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ भदौ १४ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो । इन्टरपोल शाखाबाट २०७९ भदौ १५ गते चौधरी विरुद्द जारी भएको रेड नोटिस एनसीबी अबुधाबी युएईलाई जानकारी गराइएको थियो। उनलाई पक्राउ गरी सपुर्दगी गर्न अनुरोध गरिएकोमा २०७९ भदौ २१ गते एनसीबी अबुधाबीले उनलाई पक्राउ गरि सपुर्दगीको लागि आवश्यक कागजात माग गरेको थियो।

एनसीबी काठमाडौंले माग भए बमोजिमको कागजात खुलाई पठाए पश्चात गत फागुन ११ गते चौधरीलाई नेपाल सपुर्दगि गर्ने प्रयोजनार्थ सुरक्षा टोली पठाई दिनुहुन भनि जानकारी गराएको थियो। एनसीबी काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नेपाल ल्याएको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुलाई बुझाइएको छ।

प्रकाशित: २ चैत्र २०७९, बिहीबार २०:२२