कोइराला समूहले सरकारमा सहभागी हुने विषयमा सभापति देउवासँग छलफल गर्ने



काठमाडौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहले सरकारमा सहभागी हुने विषयमा सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ। बिहीबार नक्सालस्थित एक होटलमा भएको समूहको भेलाले सरकारमा जाने विषयमा सभापति देउवासँग छलफल गरेर मात्रै नाम टुंगो लगाउने निष्कर्ष निकालेको हो। भेला केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक गिरीको निम्तोमा बोलाइएको थियो।

‘दीपक गिरीको निम्तोमा भेला भएका थियौं। त्यहाँ सरकारमा जाने विषयमा सभापतिसँग छलफल गर्ने भन्ने भएको छ। हामीले पाउने संख्या निर्धारण भएपछि सामूहिक छलफलपछि थप निर्णय लिनेछौं,’ छलफलमा सहभागी नेता गुरुराज घिमिरेले भने। उनका अनुसार भेलामा विगतमा एमाले(माओवादीबीच बनेको गठबन्धनको सरकार, गठबन्धन भत्किएर बनेको नयाँ समीकरण, राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचन, सरकारमा जाने विषय र स्ववियू निर्वाचनका सन्दर्भमा छलफल भएको थियो।

‘समसामियक राजनीतिको समीक्षा भयो। नेताहरुले आ(आफ्ना धारणा पनि राख्नुभयो,’ घिमिरेले भने, ‘छलफल पातलियो, अब अलि बाक्लो गरौं। छलफललाई घनिभूत बनाएर अघि बढौं भन्ने विषयमा कुराकानी भयो।’ भेलामा नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सह(महामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, नेता अर्जुननरसिंह केसीलगायतले धारणा राखेका थिए। भेलामा पार्टी पदाधिकारी, समूहका प्रभावशाली नेता र सांसदहरु उपस्थित थिए।

प्रकाशित: २ चैत्र २०७९, बिहीबार २१:००