काठमाडौं। बागमती प्रदेश सरकारले आईसिसी विश्वकप लिग-२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई जनही १ लाख रूपैयाँका दरले पुरस्कार दिने घोषणा गरेको छ।
क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरुप सो रकम पुरस्कार दिने प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए।
क्रिकेट खेलाडीहरुले उत्कृष्ट खेलेका कारण देशको शिर उचाईमा पुर्याएकोमा प्रदेश सरकारले गौरव गरेको थपलियाले बताए।
यूएईमाथि प्राप्त जितले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुग्यो।
विश्वकप लिग–२ का सहभागी ७ टोलीमध्ये शीर्ष ३ टोली विश्वकप छनोटमा पुग्ने प्रावधान थियो।
आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बावेमा हुने विश्वकपको विश्वस्तरको छनोटमा १० टोली सहभागी हुनेछन्।
प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार १३:००