उपराष्ट्रपतिको मतदान सकियो



काठमाडौं। उपराष्ट्रपतिको निर्वाचन सकिएको छ। संसद भवन नयाँबानेश्वरमा दिउँसो ३ बजेसम्म सांसदहरुले मतदान गरेका हुन्।

निर्धारित समयसम्म संघीय संसदतर्फ ३१० मत खसेको छ। उता प्रदेशसभाका ५१८ सदस्यहरुले मतदान गरेका छन्।

नेकपा एमालेका सचेतक महेश बर्तौलाका अनुसार संघतर्फ २२ र प्रदेशतर्फ ३२ जना सांसद अनुपस्थित भएका छन्।

बर्तौलाका अनुसार संघतर्फ अनुपस्थित हुनेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ जना र नेपाल मजदुर किसान पार्टीका एकजना सांसद रहेका छन्।

उता प्रदेशसभातर्फ ३२ जना सदस्य अनुपस्थित भएका छन्। अनुपस्थित हुनेमा राप्रपाका २८, जनता समाजवादी पार्टीका १ र नेमकिपाका ३ जना सांसद छन्।

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीमा ममता झा मैदानमा छन्।

जसपाकी सांसद प्रमिलाकुमारीले भने चुनावी प्रतिस्पर्धाबाट पछि हटेको घोषणा यसअघि नै गरेकी छन्।

Tags :

प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार १५:३७