काठमाडौं। भोलि देशभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ।
१४ वर्षपछि हुन लागेको चुनावमा विद्यार्थीको उत्साहपूर्ण सहभागिता हुने देखिन्छ।
तर, चुनावको तालिका सार्वनजिक भएर पनि विद्यार्थी संगठनको तालाबन्दी र झडपका कारण केही क्याम्पसमा चुनाव अनिश्चित छ। केही क्याम्पसमा भने विद्यार्थी संगठनहरूले भागबण्डामा नेतृत्वसहित पदाधिकारी र सदस्य निर्विरोध बनाइसकेका छन्।
देशका केही ठूला क्याम्पसमा चुनाव अनिश्चित छ। पोखरा, सुर्खेत र काठमाडौंका केही कलेजमा भोलि निर्वाचन हुनेछैन। काठमाडौंका पनि १० वटा क्याम्पसमा निर्वाचन नहुने भएको छ।
३२ क्याम्पस रहेको काठमाडौंमा ४ वटा क्याम्पसमा यसअघि नै निर्विरोध भइसकेको छ। काठमाडौंको बौद्ध बहुमुखी क्याम्पस, कान्तिपुर कलेज थली, सहयोगी बहुमुखी महाविद्यालय गोकर्ण र कैलाशकुट कलेज जयवागेश्वरीमा स्ववियु निर्विरोध निर्वाचित भइसकेका छन्।
त्यसैगरी, पशुपति क्याम्पस चावहिल, बानेश्वर बहुमुखी क्याम्पस, आयुर्वेदिक क्याम्पस कीर्तिपुर, एन.आर कलेज नेपालटार, त्रिचन्द्र क्याम्पस घण्टाघर, विश्वभाषा क्याम्पस, वाल्मिकी क्याम्पस प्रदर्शनीमार्ग र आरआर क्याम्पसमा तत्कालका लागि स्ववियु निर्वाचन रोकिएको छ।
यसमध्ये त्रिचन्द्र क्याम्पस घण्टाघरमा भने चैत ९ गते निर्वाचन हुने भनिएको छ। कोटेश्वर बहुमुखी क्याम्पस र ग्रामीण आदर्श क्याम्पस मनमैजुमा चाहिँ तालाबन्दी छ। यी दुवै क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित छ।
केन्द्रीय क्याम्पस त्रिविसमेत १८ वटा क्याम्पसमा भने आइतबार निर्वाचन हुनेछ।
प्रकाशित: ४ चैत्र २०७९, शनिबार १४:०४