काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आइतबार बसेको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय लिएको हो।
रास्वपा सांसद सोबिता गौतमका अनुसार यसअघी प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय गरेको हो। ‘मुद्दाको आधारमा सरकारलाई दिएको समर्थन जारी राख्ने र विश्वासको मत दिने निर्णय भएको छ,’ उनले भनिन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेर प्रतिपक्षमा गएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् । उनले यसअघि पुस २६ मा विश्वासको मत लिएका थिए।
कांग्रेसलगायतका दलहरूसँग राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बनाएका दाहालले विश्वासको मत लिएलगत्तै सरकार विस्तार गर्ने तयारी थालेका छन् । रास्वपाले सरकारमा सहभागिताबारे भने केही निर्णय नगरेको छैन । ‘सरकारमा सहभागी हुने कि नहुने भनेर पछि निर्णय गर्ने भएका छौं,’ उनले भनिन् ।
प्रकाशित: ५ चैत्र २०७९, आईतवार १३:१२