एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने


तरुण पत्रिका

६ चैत्र २०७९, सोमबार १२:०६

काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ।

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन्। तर एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए।

सो विषयमा निर्णण गर्न अहिले केही बेरमा एमाले संसदीय दलको बैठक बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गर्ने बताइएको छ।

‘हामी आफ्नो निर्णयमा अडिग छौं,’ संसदीय दलका उपनेता नेम्वाङले भने, ‘हामी प्रतिपक्षको बेच्नमा बसिसकेका छौं, अहिले साढे ११ बजे बस्ने संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गर्छ।’

पुस १० मा एमालेलगायतका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले एमालेसँगको गठबन्धन तोड्दै पुरानै गठबन्धन ब्युँताएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरी सकेको छ।

प्रधानमन्त्री प्रचण्डलाई ११ दलले समर्थन जनाउने यसअघि नै घोषणा गरेका छन्। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिने जनाए पछि दलको संख्या ११ पुगेको छ ।

जसअनुसार १० दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंहलगायतले विश्वासको मत दिने जनाएका हुन । उता, गठबन्धन बाहिरको रास्वपाले पनि विश्वासको मत दिने आइतबार निर्णय गरिसकेको छ।

संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि २६ पुसमा संसद्को विश्वास लिएका थिए ।

Tags :

प्रकाशित: ६ चैत्र २०७९, सोमबार १२:०६