काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सहमतिका लागि आफूले निरन्तर प्रयास गर्दा गठबन्धनको प्रमुख दलबाट नै समर्थन नपाएको आरोप लगाएका छन्।
प्रधानमन्त्रीका रुपमा आफूले संसद्बाट पाएको राष्ट्रिय समर्थनप्रति कृतज्ञता जनाउन र राष्ट्रका संकटहरूको सामना गर्न आफूले राष्ट्रिय सहमतिमै जोड दिएको स्पष्ट पारे।
प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपूर्व सोमबार बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रपति जस्तो सम्मानित संस्था पटकपटक राजनीतिक विवादमा परेको र त्यसले लोकतन्त्रप्रतिको जनआस्थाकै मानमर्दन गरेको पृष्ठभूमिमा मैले नयाँ राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने नयाँ सुरुआत गर्न चाहँे । संसदको सबैभन्दा ठूलो पार्टीको हैसियतले समझदारीमै नेपाली कांग्रेसलाई राष्ट्रपति दिऊँ भनेर नेकपा एमालेका अध्यक्षसँग अनुरोध पनि गरेँ । त्यसले राजनीतिक सन्तुलन पनि कायम हुन्छ भन्ने मेरो तर्क थियो । हो, परिणाममा त्यसो हुन सकेन । हामीले सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति चुन्न सकेनौं । तर प्रधानमन्त्रीका रुपमा मैले गरेको प्रयास र लिएको अग्रसरतामा कुनै खोट थिएन । म आज सम्मानित सदनलाई सोध्न चाहन्छु, मेरो त्यो चाहना कमजोरी थियो कि राष्ट्रप्रतिको जिम्मेवारीबोध ?’
विश्वासको मतका लागि यति छिटै संसदसँग अनुरोध गर्ने अवस्था आउँला भन्ने आफूले नसोचेको पनि प्रचण्डले बताए। राष्ट्रसामु स्थिरताको प्रतिबद्धता जनाएका नेकपा एमाले र राप्रपा अस्थिरतातिर अग्रसर भएकोमा उनले चिन्ता व्यक्त गरे।
प्रधानमन्त्री प्रचण्डले संसद्को पहिलो दिनमा नै संसद् विघटनको विषयको उठान सान्दर्भिक र प्रासंगिक नभएको बताउँदै यसले सिंगो देश तरंगित बनेको आरोप लगाए।
प्रकाशित: ६ चैत्र २०७९, सोमबार १५:०६