कोशी प्रदेश खारेजीको माग गर्ने समूहबाट मुख्यमन्त्रीको गाडी तोडफोड


तरुण पत्रिका

६ चैत्र २०७९, सोमबार १५:१६

काठमाडौं। ओखलढुंगामा मुख्यमन्त्री हिक्मत कार्की सवार गाडी तोडफोड गरिएको छ।

कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै आन्दोलनकारीले सिद्धिचरण नगरपालिका- ११ को गोरुमारेभन्जयाङ चोकमा मुख्यमन्त्री सवार गाडी तोडफोड गर्नुका साथै गाडीमा राखिएको झण्डा निकालेर फ्याँकेका छन्।

मुख्यमन्त्री कार्की जिल्लामा सञ्चालित विभिन्न योजनाहरु उद्घाटन र शिलान्यस गर्न चैत्र ५ गते ओखलढुंगा पुगेका थिए।

मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाउँदै आन्दोलनकारीले विहानैदेखि सिद्धिचरण राजमार्गमा टायर बालेर चक्काजाम गरेका थिए।

पहिचानको पुनः नामांकन संघर्ष समितिले आयोजना गरेको कार्यक्रमको नेतृत्व नेपाल आदिवासी जनजाति महासंघले गरेको थियो।

कडा सुरक्षाकावीच ओखलढुंगा सदरमुकामबाट सिद्धिचरण नगरपालिका-१ तलुवामा सामुदायिक भवनको उद्घाटन गर्न मुख्यमन्त्री कार्की जाँदै थिए।

मुख्यमन्त्री विरुद्ध नारावाजी गर्दै आन्दोलनकारीले कालोझण्डा समेत देखाएका थिए। सो क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीवीच केही समय झडप समेत भएको थियो।

Tags :

प्रकाशित: ६ चैत्र २०७९, सोमबार १५:१६