प्रधानमन्त्री प्रचण्डलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?


तरुण पत्रिका

८ चैत्र २०७९, बुधबार १०:०८

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो भनेर प्रश्न गरेका छन्।

उनले मंगलबार प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाहरूको सुरक्षाकर्मीले मुख थुनेको प्रसंग कोट्याउँदै यस्तो प्रश्न गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा सुरक्षाकर्मीले थुनेको तस्वीर राख्दै उनले भनेका छन्, ‘हामीले गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौँ भन्नुहुने कमरेड प्रचण्ड हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो?’

मंगलबार प्रधानमन्त्रीदाहालविरुद्ध नयाँबानेश्वरमा नाराबाजी भएको थियो। मूल्यवृद्धि खारेज गर्, नालयक सरकार होसियार,युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन जस्ता नारा लगाउने प्रधानमन्त्रीविरुद्ध प्रदर्शन हुँदा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो।

उनले चाँडोभन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन तथा देशभित्रै रोजगारी सिर्जनाको वातावरण बनाउन अनुरोध गरेका छन्।

नभए मुख थुनेर मात्र नभई बन्दुकले पनि आवाज थुनिने उनले बताएका छन्। उनले भनेका छन्, ‘अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्ननज्जो!! जो तपाईं स्वयमलाई सबैभन्दा राम्रो थाहा छ।’     

Tags :

प्रकाशित: ८ चैत्र २०७९, बुधबार १०:०८