काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ।
बुधबार काठमाडौंमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको सांसद छिरिङ दोर्जे लामाले जानकारी दिए । ‘मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको छ । तर, २ दिनपछि हामीले भनेका छौँ,’ उनले भने।
बैठकमा संसदीय दलका नेता बहादुर सिंह लामाले यही ब्रिफिङ्ग गरेको लामाले बताए। ‘गठबन्धन दलबाट बनेको मुख्यमन्त्रीलाई विश्वासको मत दिने नै हो, तर पर्याप्त छलफलपछि दिने हो,’ संसदीय दलका नेता लामालाई उद्धृत गर्दै लामाले बताए ।
मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिने प्रयोजनसहित आज दिउँसो ३ बजेका लागि सदन आह्वान गरिएको थियो । तर, कांग्रेस सांसदहरू काठमाडौंमै रहँदा सदन अनिश्चित भएको छ । यसमा संसद् सचिवालयले केही जानकारी गराएको छैन।
प्रदेश सभामा ३७ सिट भएको कांग्रेसले सरकारको नेतृत्व आफैँले गर्न पाउनुपर्ने दाबी दोहोर्याइरहेको छ । उसले नेतृत्वका लागि सुनिश्चितता खोजिरहेको छ।
प्रकाशित: ८ चैत्र २०७९, बुधबार १६:०८