काठमाडौं। मन्त्रिपरिषद् विस्तारबारे समझदारी जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
प्रधानमन्त्री प्रचण्ड चैत १० गतेसम्म मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएका छन्। उनले चैत ६ गते प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ११ दलहरुबाट विश्वासको मत लिएका थिए।
विश्वासको मत दिने दलहरुले धेरै मन्त्रालयमा दाबी गरिरहेका कारण मन्त्रालय भागबण्डामा अप्ठेरो पर्ने देखिएको छ।
प्रतिनिधि सभाको ठूलो दल कांग्रेसले १०, सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले ३/३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीले २/२, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले एक–एक मन्त्रालय दाबी गरिरहेका छन्।
कांग्रेस महामन्त्री गगन थापा विश्वासको मत दिने दलहरुको संख्या र सरकारमा जान चाहेका दलहरु धेरै भएका कारण मन्त्रिपरिषद् विस्तारमा केही दिन लाग्ने बताउँछन्।
‘मन्त्रिपरिषद् विस्तार एकदमै गाह्रो छ। थोरै मन्त्रालयहरु छन्, धेरै दलहरु छौँ,’ उनी भन्छन्, ‘दलहरुभित्र पनि आकांक्षीहरु धेरै हुनुहुन्छ। त्यसैले केही दिन त लाग्छ नै।’
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरुका बीचमा समझदारी जुटाउनेबारे सैद्धान्तिक सहमति गरेपछि मन्त्रालय बाँडफाँटबारे छलफल सुरु हुने पनि महामन्त्री थापाको भनाइ छ।
प्रकाशित: ८ चैत्र २०७९, बुधबार १८:४१