काठमाडौं। घरेलु टोली नेपालले प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले लाओसलाई २–० गोल अन्तरले पाखा लगाएको हो। नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे।
खेलको २९ औं मिनेटमा अनन्त तामाङको गोलमा नेपालले सुरुवाती अग्रता लिएको थियो। एरिक विष्टको कर्नरमा अनन्तले हेडर गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाए। राष्टिय टोलीबाट तेस्रो गोल गरेका अनन्तले यसअघि लाओसविरुद्धको खेलमा नै गोल गरेका थिए।
खेलको ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ४० यार्डबाट भलि गोल गर्दै नेपालको अग्रता दोब्बर पारे। घरेलु मैदानमा पहिलो गोल गरेका नवयुगले राष्टिय टोलीबाट आठौं गोल गरेका हुन्।
६७ औँ मिनेटमा लाओसका बौफाचनको प्रहार गोलरक्षक बिट भएपछि डिफेन्डर अनन्त तामाङले क्लियर गरे।
खेलको ७१ औं मिनेटमा मनिष डाँगीको क्रसमा नवयुगको पासमा आयुष घलानको फितलो प्रहारले पोष्टको गति लिन सकेन।
त्यसअघि खेलको पाँचौं मिनेटमा आयुष घलानको क्रस नवयुग श्रेष्ठले भेट्न नसकदा अग्रता बनाउनबाट चुक्यो। १८औँ मिनेटमाा पुजन उपरकोटीको प्रहार पोष्टको माथिबाट आकाशियो।
लाओसविरुद्धको खेलमा नेपालका चार खेलाडीले डेब्युको मौका पाए। राष्टिय टोलीमा सनिस श्रेष्ठले सुरुवाती ११ मा स्थान बनाउँदै डेब्यु गरे।
खेलको ७३ औँ मिनेटमा नविन लामाको स्थानमा मणिकुमार लामाले मैदान प्रवेश गर्दै सिनियर टोलीमा डेब्यु गरे।
८२ औं मिनेटमा नवयुगको स्थान लिर्दै सातदोबाटोका दीपक राज सिंह ठकुरीले राष्टिय टोलीमा डेब्यु गरे। त्यसपछि खेलको इन्ज्युरी समयमा सुमित श्रेष्ठले पनि डेब्यु मौका पाए। आजको खेलमा अनन्त तामाङ म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिताको दोस्रो खेलमा नेपालले मगंलबार भुटानसँग खेल्नेछ। शनिबार लाओस र भुटान खेल्नेछन्।
प्रकाशित: ८ चैत्र २०७९, बुधबार २०:३५