काठमाडौं। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको उमेर विवादबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
मंगलबार अख्तियारले गृहसचिवका नाममा पत्रचार गर्दै छानबिन गरी एक महिनाभित्रमा प्रतिवेदन पेस गर्न पत्राचार गरेको हो।
गृह मन्त्रालयमा पत्र प्राप्त भएको र आवश्यक छानबिन तथा कारबाहीका लागि प्रक्रिया अगाडि बढेको गृहसचिव विनोदप्रकाश सिंहले बताए।
‘अख्तियारबाट हिजोको मितिमा पत्र प्राप्त भएको छ। यस विषयमा मन्त्रालय जानकार छ। प्रहरी प्रधान कार्यालयमा पनि पत्राचार भइसकेको छ,’ गृहसचिव सिंहले भने।
बुधबार मात्रै एआईजीको दर्ज्यानी चिन्ह लगाएका श्यामलाल ज्ञवालीविरुद्ध उमेर ढाँटेर सेवा प्रवेश गरेको आरोपमा फागुन १४ गते उजुरी परेको थियो। ज्ञवालीले नागरिकताको जन्ममिति नै फरक पारेर सरकारी निकायलाई झुक्याई जागिर खाएको उजुरीमा उल्लेख छ।
‘उक्त उजुरीका सम्बन्धमा प्रारम्भिक छानबिनका क्रममा निज श्यामलाल ज्ञवालीको जिल्ला प्रशासन कार्यालय प्युठानबाट २०४१ चैत २१ मा जारी भएको नेपाली नागरिकताको प्रमाण पत्रमा उमेर १७ वर्ष भनी उल्लेख भएको, जसबाट जन्ममिति गणना गर्दा निजको जन्ममिति २०२४ चैत २१ हुन आउने देखिन्छ,’ अख्तियारको पत्रमा भनिएको छ।
प्रहरी नियमावली, २०४९ (दोस्रो संशोधनसहित) को नियम १३ को उपनियम (१) मा प्रहरी निरीक्षक पदको लागि हुने खुला प्रतियोगितामा छनौट हुने सालको वैशाख १ गते २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको व्यक्तिले भाग लिन सक्नेछन् भन्ने व्यवस्था छ। २०५० मंसिर १ मा गोरखापत्रमा प्रकाशित प्रहरी निरीक्षक पदको लागि भएको दरखास्त आह्वानमा समेत छनौट हुने सालको वैशाख १ गते २० वर्ष उमेर पुगेको, २५ वर्ष ननाघेको हुनु पर्ने व्यवस्था देखिन्छ।
अख्तियारले भनेको छ, ‘निज श्यामलाल ज्ञवालीको उमेर निजको नेपाली नागरिकताको प्रमाण पत्रबमोजिम उक्त छनौट हुने साल २०५० को वैशाख १ गते २५ वर्ष ९ दिन हुन आउने देखिन्छ।’
प्रारम्भिक अनुसन्धानको क्रममा ज्ञवालीको उमेर ९ दिन बढी भएको पाइएको छ।
‘यससम्बन्धमा के कसो भएको हो? सो सम्बन्धमा तहाँ मन्त्रालयबाट यथाशीघ्र छानबिन गरी प्रस्तुत पत्र प्राप्त भएको मितिले १ महिनाभित्र तहाँ मन्त्रालयको स्पष्ट रायसहितको छानबिन प्रतिवेदन र सोलाई पुष्टि गर्ने सम्बद्ध कागजातहरु आयोगको महाशाखा नं. ३ मा उपलब्ध गराई छानबिन कार्यमा सहयोग गरिदिनुहुन निर्णयानुसार अनुरोध छ।’
गृह मन्त्रालयले उक्त पत्रबारे थप अनुसन्धान गर्नका लागि प्रहरी प्रधान कार्यालय पठाउने निर्देशन गरेको छ। यता बुधबार एआईजीको दर्ज्यानी चिन्ह लगाएका ज्ञवाली भने तीन दिनपछि आईजीपी बन्ने दौडमा छन्। उनीसँगै बढुवा भएका ५ एआईजीमध्येबाट सरकारले आगामी शुक्रबार आईजीपीमा बढुवा गर्नेछ।
यसअघि उमेर विवादकै कारण यहि ब्याचका डीआईजी अशोक सिंहले राजीनामा दिएका थिए।
प्रकाशित: ९ चैत्र २०७९, बिहीबार ०६:३२