गोरखाको लार्केपास हिउँमा फसेका २ जनाको उद्धार


तरुण पत्रिका

९ चैत्र २०७९, बिहीबार ०९:१४

काठमाडौं। गोरखाको लार्केपास जाँदै गर्दा हिउँमा फसेका २ जना नेपालीको उद्धार गरिएको छ।

दुईजना हिउँमा फसेको जानकारी आएपछि उनीहरूलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले उद्धार गरेको हो।

बुधबार लार्केपासका लागि हिँडेका नवलपुर कावासोतीका सौरभ खनाल र अनिता घलेलाई प्रहरीले बिहीबार बिहान उद्धार गरेको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार अहिले उनीहरूको उद्धार गरेर धर्मशाला भन्ने ठाउँमा राखिएको छ।

‘उद्धार गरेर धर्मशाला भन्ने ठाउँमा ल्याएर राखिएको छ। प्रमुख जिल्ला अधिकारीज्यूसँग समन्वय गरी काठमाडौंबाट हेलिकोप्टर मगाइएको सूचना पाएका छौं।’ लामिछानेले भने।

उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको डिएसपी लामिछानेले बताए। बुधबार बिहान उनीहरू सामागाउँको लार्केगाउँबाट त्यसतर्फ लागेका थिए।

उनीहरू धर्मशालाबाट करिब दुई घन्टा माथि बाटोमा हिउँमा फसेको जानकारी आएपछि उद्धार भएको उनले बताए।

 

Tags :

प्रकाशित: ९ चैत्र २०७९, बिहीबार ०९:१४