क्रिकेट मुख्य प्रशिक्षक देसाईको तलब २० प्रतिशतले वृद्धि


तरुण पत्रिका

९ चैत्र २०७९, बिहीबार १०:३९

काठमाडौं। प्रशिक्षक नियुक्त भएलगत्तै नेपाली क्रिकेट टिमलाई राम्रो नतिजा दिलाएका भारतीय प्रशिक्षक मोन्टी देसाइको तलब २० प्रतिशतले वृद्धि भएको छ।

नेपाल क्रिकेट संघले उनको मासिक तलबमा २० प्रतिशत वृद्धि गरेको हो।

प्रशिक्षक नियुक्त भएको दुई महिना नपुग्दै देसाईको तलब बढाइएको हो । यसअघि मासिक १० हजात डलर पाउने सम्झौता रहेकोमा अब उनले मासिक १२ हजार डलर (करिब १६ लाख रुपैयाँ) पाउने छन्। आउँदो अप्रिल १ बाट उनको नयाँ तलबमान कार्यान्वयन हुने बुझिएको छ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले यसअघि सम्झौता गर्दा नै नेपालले एक दिवसीय मान्यता जोगाउन सफल भएको खण्डमा तलब बढाउने समझदारी रहेको बताए।

‘उहाँको प्रशिक्षणमा नेपालले एक दिवसीय मान्यता जोगाउनुका साथै विश्वकप क्वालिफायर्समा पनि स्थान सुरक्षित गरेको छ । त्यसैले पूर्वशर्त अनुसार हामीले तलब वृद्धि गरेका छौँ,’ उनले भने ।

गत माघ २३ गते देसाइलाई क्रिकेट संघले प्रमुख प्रशिक्षकमा नियुक्ति दिएको थियो। औपचारिक नियुक्ति पाउनुभन्दा केही दिनअघिबाटै देसाइले नेपाली टिम सम्हालेका थिए।

 

Tags :

प्रकाशित: ९ चैत्र २०७९, बिहीबार १०:३९