काठमाडौं। सत्ता साझेदार मुख्य चार दलको बैठक बालुवाटारमा बसिरहेको छ।
सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न मुख्य चार दलको बैठक बालुवाटारमा बसिरहेको हो।
बैठकमा सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस, नेकपा एकीकृत माजवादी र जनता समाजवादी पार्टी (जसपा) सहभागी छन्।
बैठकमा माओवादीका तर्फबाट उपमहासचिव शक्ति बस्नेत, कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र जसपाबाट नेता राजेन्द्र श्रेष्ठ सहभागी छन्।
यसअघि मन्त्रिपरिषद् विस्तारबारे समझदारी जुटाउन बुधबार चारै दलका शीर्ष नेताहरुको बैठक बसेको थियो।
बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयले सैद्धान्तिक रुपले प्रवेश पाएको नेताहरुले बताएका थिए।
बैठकपछि कांग्रेस प्रमुख सचेतक लेखकले मन्त्रिपरिषद् विस्तारबारे प्रारम्भिक छलफल भएको जानकारी दिएका थिए।
‘सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ,’ बैठकपछि उनले भने, ‘मन्त्रिपरिषद्लाई पूर्णता दिने बारेमा छलफल भएको छ।’
सरकारलाई विश्वासका मत दिएका दलहरु मध्ये कसले कति र कुन–कुन मन्त्रालय लिने भन्ने बारेमा छलफल नभएको उनको भनाइ थियो।
‘आज भर्खरै छलफल प्रारम्भ भएको छ। त्यस कारण यसले यति मन्त्रालय भन्ने कुरा भइसकेको छैन,’ लेखकको भनाइ थियो।
प्रकाशित: ९ चैत्र २०७९, बिहीबार १५:१३