काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएको ४ दिन भइसक्दासमेत सरकारलाई पूर्णता दिन सकेका छैनन् । दाहालले विश्वासको मत लिएलगत्तै सरकारलाई पूर्णता दिने बताएका थिए ।
सरकारलाई विश्वासको मत दिएका सबै दलले सरकारमा सहभागी हुने आकांक्षा राखेको र मन्त्रालयको संख्या काम भएका कारण पनि सरकार विस्तारमा प्रधानमन्त्रीलाई समस्या भइरहेको छ ।
स्रोतका अनुसार सरकारको नेतृत्वको गरेको दल माओवादी केन्द्रको प्राथमिकता समाजवादी केन्द्र निर्माण गर्नेका बढी भएका कारण पनि सरकार विस्तारमा समस्या भएको हो ।
प्रधानमन्त्री प्रचण्डले माओवादी, एकीकृत समाजवादी, जसपा र बाबुराम भट्टराई नेपाल समाजवादी पार्टीलाई बढी प्राथमिकता दिन थालेपछि सरकारमा जान तयारी अवस्थामा रहेको नेपाली कांग्रेस सशंकित बन्न थालेको छ ।
सरकार विस्तारलगायतका विषयमा छलफल गर्न सरकारलाई समर्थन गरेका दलको बैठक बोलाउने विषयमा पनि कांग्रेस र माओवादीबीच मतभिन्नता देखिएको छ ।
प्रचण्ड कांग्रेससहित, माओवादी, जसपा, र एकीकृत समाजवादीको मात्रै बैठक बोलाउनु पर्ने पक्षमा छन् भने कांग्रेस सरकारलाई समर्थन गर्ने सबै दलको बैठक बोलाउनु पर्ने पक्षमा छ। कांग्रेस कै दबावका कारण प्रधानमन्त्रीले दश दलको बैठक बोलाउने गरेका छन्।
‘प्रचण्डजीको प्राथमिकता समाजवादी केन्द्र गठन गर्न सहमत हुने दलप्रति बढी देखियो,’ एक नेताले भने, ‘कांग्रेसले सरकारलाई समर्थन गर्ने सबै दल सरकरमा सहभागी हुन चाहेका छन्। ती सबै दललाई समेटेर लैजानुपर्छ भनेर दबाव दिएका कारण मात्रै प्रचण्डले दश दलको बैठक बोलाउनु भएको हो।’
यही कारणले सरकार विस्तारमा ढिलाइ भएको ती नेताले दाबी गरे। उनका अनुसार अझै केही दिन सरकारले पूर्णता पाउने अवस्था छैन।
उता राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सरकारमा सहभागी भएरै चुनाव लड्ने दाउमा रहेपछि रास्वपालाई दिने मन्त्रालयका विषयमा पनि दलहरुबीच सहमति बन्न सकेको छैन।
लामिछानेले आफूलाई गृहमन्त्रालय नै दिनुपर्ने दाबी गरिरहेका छन्। संसदका हाल १९ सिट संख्या रहेको रास्वपालाई चिढ्याउने पक्षमा प्रधानमन्त्री छैनन्। माओवादीले गृहमन्त्रालय सकेसम्म आफैंसँग राख्न खोजेको छ। तर रास्वपाले गृहलाई बटमलाइन बनाए त्यसमा लचक हुने संकेत प्रधानमन्त्री प्रचण्डले गरेका छन्।
प्रकाशित: १० चैत्र २०७९, शुक्रबार ०८:२६