काठमाडौँ– गत फागुन २४ गते साँझ काठमाडौँको शंखरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा पत्रकार ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो ।
साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रह्मखेल जाँदै गरेको बा५ख २४१४ नम्बरको टिपरले पत्रकार श्रेष्ठले चलाएको बा९४प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा साँखुबाट प्रकाशित हुँदै आएको लावण्य साप्ताहिक पत्रिकाका प्रधानसम्पादक श्रेष्ठको मृत्यु भयो ।
सोही दिन सोही टिपरको ठक्करबाट साँखुका २२ वर्षीय हरि खड्काको समेत ज्यान गयो । खड्काले चलाएको बा८२प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
एकैपटक एउटा टिपरले २ सवारीसाधनलाई ठक्कर दिँदा दुवै जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा २० वर्षीय पूनम श्रेष्ठ गम्भीर घाइते भइन् ।
यस्तै, गत माघ १४ गते काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूस्थित चमतीमा ट्यांकरको ठक्करबाट ५५ वर्षीय नरेन्द्रमुनि बज्राचार्यको मृत्यु भयो । प्रदेश ३–०१–००३ क ७५१२ नम्बरको ट्यांकरले बा८१प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनको ज्यान गएको हो ।
यी माथि उल्लेखित घटना प्रतिनिधिमूलक घटना मात्र हुन् । पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र सवारी दुर्घटनाका कारण बर्सेनि सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् ।
आफूले ठिक ढंगबाट सवारीसाधन चलाउँदा पनि अर्को सवारीसाधनका कारण अकालमा ज्यान गुमाउनुपरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्ममा काठमाडौँ उपत्यकाभित्र ६ हजार ८०३ सवारीसाधन दुर्घटनाबाट १२७ जनाको मृत्यु भएको छ ।
यस्तै, १५४ जना गम्भीर घाइते भएका छन् भने ५ हजार १२७ जना सामान्य घाइते भएका छन् ।
पछिल्लोे ३ वर्षको तथ्यांकअनुसार काठमाडौँ उपत्यकाभित्र सवारीसाधन दुर्घटनाबाट ४८४ जनाले ज्यान गुमाएका छन् ।
आव २०७७/७८ मा ९ हजार ५४५ सवारीसाधन दुर्घटनाबाट १६६ जनाको मृत्यु भएको छ भने २२९ जना गम्भीर घाइते तथा ७ हजार ९५ जना सामान्य घाइते भएका छन् ।
आव २०७८/७९ मा १० हजार ७३३ सवारीसाधन दुर्घटनामा परेर १९१ जनाको मृत्यु भएको छ भने २५७ गम्भीर घाइते र ८ हजार २८१ जना सामान्य घाइते भएका छन् ।
काठमाडौँ उपत्यकामा सवारीसाधन दुर्घटनाको अवस्था कहालीलाग्दो छ । काठमाडौँ उपत्यकामा सवारीसाधन दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक र पैदलयात्रु बढी छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट उपत्यकाभित्र हुने सवारीसाधन दुर्घटनालाई कम गर्न ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमलाई अगाडि सारेको बताउँछन् ।
‘दुर्घटना कम गर्न मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ, तीव्र गतिलाई नियन्त्रण गर्न प्रतिघन्टा ५० किलोमिटरभन्दा बढीको गतीमा सवारीसाधन चलाउन नपाइने नियम, सवारीसाधनको स्थिति जाँच, लामो दुरीका सवारीसाधनमा २ जना चालक छन् या छैनन् लगायत विषयलाई विशेष निगरानी गर्दै आएका छौँ,’ उनी भन्छन् । साँघुरो बाटो र धेरै सवारीसाधन भएकाले बढी दुर्घटना हुने गरेको प्रवक्ता भट्टको भनाइ छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौँ उपत्यकाभित्रको सवारी व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा १ हजार ७०० ट्राफिक प्रहरी परिचालित छन् ।
लामो समयसम्म काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा काम गरेका पूर्व प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ ९० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय कारणले हुने गरेको बताउँछन् ।
‘चालक, पैदलयात्रु र यात्रुका कारण धेरै दुर्घटना हुने गरेको छ,’ उनी भन्छन् । हाल देशभर ४० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् । तीमध्ये काठमाडौँ उपत्यकामा मात्र १८ लाखदेखि २० लाख सवारीसाधन सञ्चालनमा छन् ।
प्रकाशित: १० चैत्र २०७९, शुक्रबार १०:४२