काठमाडौँ- राष्ट्रिय तथ्यांक कार्यालयले १२औँ राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ ।
शुक्रबार सोल्टी होटलमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरे ।
सार्वजनिक विवरणअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । २०६८ मा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार थियो ।
यसअघि १२ माघ २०७८ सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० देखाएकाे थियाे ।
जनगणनाअनुसार पुरुषको जनसंख्या ४८.८७ प्रतिशत र महिलाको जनसंख्या ५१.१३ प्रतिशत छ। जसअनुसार लैंगिक अनुपात ९५.५९ हुन आउँछ ।
यस्तै, राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कुल जनसंख्यामध्ये अन्य लिंगी (लैंगिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २,९२८ छ, जुन कुल जनसंख्याको ०.०१ प्रतिशत हुन्छ । कुल अन्य लिंगीमध्ये सबैभन्दा बढी बाग्मती प्रदेशमा ३२.७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २.८ प्रतिशत छ।
भौगोलिक क्षेत्रअनुसार जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश गत २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ । गत २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६१ प्रतिशत पुगेको छ ।
हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा २०७८ मा केही कम भई ६.०८ प्रतिशत देखिन्छ । त्यसैगरी पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत रहेकोमा हाल (२०७८ मा) ४०.३१ प्रतिशतमा झरेको छ ।
प्रकाशित: १० चैत्र २०७९, शुक्रबार १३:४७