काठमाडौँ– नेपालमा भएका कुल परिवारमध्ये २३.४ प्रतिशत परिवारका करिब २२ लाख जनशक्ति अक्सर विदेशमा बसोबास गर्ने पाइएको छ ।
राष्ट्रिय जनगणना– २०७८ को प्रतिवेदनले यस्तो देखाएको हो । सार्वजनिक विवरणअनुसार ६६ लाख ६६ हजार ९३७ परिवारमध्ये १५ लाख ५५ हजार ९६१ परिवारका २१ लाख ९० हजार ५९२ जना घरपरिवारमा अनुपस्थित रहेको पाइएको हो । उनीहरूमध्ये कतिपय स्थायी बसोबास अनुमति लिएर विदेश जानेहरू छन् भने अधिकांश वैदेशिक रोजगारीका लागि जानेहरू छन् ।
अक्सर विदेशमा बसोबास गर्नेमा पनि पुरुषको संख्या अत्यधिक छ । विदेशमा बस्ने महिला १७.८ प्रतिशत अर्थात् ३ लाख ९० हजार ९१७ जना हुँदा पुरुषको संख्या भने ८२.२ प्रतिशत छ । प्रतिवेदनमा जनाइएअनुसार १७ लाख ९९ हजार ६७५ जना पुरुष विभिन्न प्रयोजनका लागि विदेशमा बसोबास गर्नेहरू छन् ।
१० वर्षको अवधिमा २ लाख ६९ हजार ९८ जना नेपालको बसाइ छाडेर विदेशमा बसोबास गरेको पाइएको छ । २०६८ सालको जनगणनामा १९ लाख २१ हजार ४९४ जना नेपालका परिवारमा अनुपस्थित भई विदेशमा बसोबास गरेको तथ्यांक छ ।
१० वर्षअघि १३ लाख ७८ हजार ६७८ परिवार अर्थात् २५.४ प्रतिशत परिवारका सो जनसंख्या विदेशमा थियो । त्यतिबेला पुरुषको संख्या ८७.६ प्रतिशत थियो भने १२.४ प्रतिशत महिला विदेशमा थिए । त्यस हिसाबले पछिल्लो १० वर्षमा बिदेसिने महिलाको संख्या पनि तीव्र रूपमा बढेको छ ।
हाल विदेशमा बसोबास गर्ने जनसंख्यामध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशको छ । विदेशमा बस्ने जनसंख्याको १९.२ प्रतिशत यसै प्रदेशका छन् । सबैभन्दा कम विदेश जाने प्रदेशमा कर्णाली प्रदेश छ । विदेशमा बस्नेको ४.३ प्रतिशत जनसंख्या मात्रै यस प्रदेशको छ ।
यसैगरी बाग्मती प्रदेशबाट बिदेसिनेमा महिलाको संख्या पनि उल्लेख्य छ । यस प्रदेशबाट बिदेसिने जनसंख्याको २९.६ प्रतिशत संख्या महिलाको छ । सबैभन्दा कम बिदेसिने महिलाको संख्या मधेसको छ । मधेस प्रदेशबाट बिदेसिनेको संख्याको ९६.१ प्रतिशत पुरुष हुँदा ३.९ प्रतिशत मात्र महिला छन् ।
हेर्नुहाेस् पूर्ण पाठः
प्रकाशित: १० चैत्र २०७९, शुक्रबार १५:१७