धामीझाँक्रीको भर पर्दा गर्भवतीको मृत्यु


तरुण पत्रिका

११ चैत्र २०७९, शनिबार १२:४६

धनगढी। धामीझाँक्रीको उपचारमा भर पर्दा कैलालीको गोदावरी नगरपालिका-८, स्याउलेकी २२ वर्षीया गर्भवतीको ज्यान गएको छ।

घरनजिकै अस्पताल भए पनि धामी बोलाएर कल्पना विकको उपचार गर्न लाग्दा निकोन नभएपछि अर्का धामीको घरमा लगिएको थियो।

ती धाँमीले पनि निको पार्न नसकेपछि गर्भवती कल्पनालाई सेती प्रादेशिक अस्पताल लगिएको थियो। यसैबीचमा कल्पना बिरामी भएको ३० घण्टा बितिसकेको थियो । कल्पनाले जिब्रो बाहिर ल्याउने,र्याल फाल्ने, काम्ने, झड्का आएजस्तो गर्न थालेपछि छरछिमेकी सबैले भूत लाग्यो भनेर शङ्का गरेका थिए। त्यसपछि धामीझाँक्रीको भर परेका हौँ। नियमित स्वास्थ्य जाँच गर्दै आएकी कल्पना अन्तिम जाँच गर्ने बेला बिरामी भएकी हुन।

उनलाई अस्पताल पुर्याउन ढिलो भएकाले गर्भावस्थाको शिशुको मृत्यु भएको थियो। कल्पनाको अन्तिम जाँच फागुन ४ गते थियो तर उनी ३ गते बिहानै बिमारी भइन।

कल्पनालाई १७ दिन सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो तर उनको ज्यान बचेन। उनको उपचारमा संलग्न डा. खगेन्द्र भट्टले समयमै अस्पतालमा ल्याइएको भए कल्पना र गर्भको शिशुलाई बचाउन सकिने सम्भावना रहेको बताए । उनका अनुसार कल्पनालाई अस्पताल ल्याउँदा ब्लड प्रेसर बढी थियो। फोक्सो, लिभरलगायतका अङ्गले काम गर्न छाडेका थिए। कल्पनाको शरीरभरि ब्याक्टोरिया भाइरस फैलिसकेको थियो। बान्ता गरेको, ज्वरो आएको र बेहोश भएका कल्पनालाई निकै प्रयास गर्दा पनि बचाउन नसकेको डा। भट्ट्ले बताए।

यातायात, स्वास्थ्य केन्द्रको पहुँच भएको कैलालीमा धामीझाँक्री, औषधि नियमित नखाने, जाँच नियमित नगर्ने, समयमै स्वास्थ्य संस्था नपुग्ने र स्वास्थ्य संस्थामा पहुँच नहुनाले हरेक वर्ष गर्भवती महिलाको मृत्यु हुने गरेको छ।

जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका फोकल पर्सन रमा गिरीका अनुसार यस वर्ष कैलालीमा चार, अघिल्लो आर्थिक वर्षमा नौ र त्योभन्दा अघिल्लो वर्ष २० गर्भवतीको समयमै उपचार नपाउँदा मृत्यु भएको थियो। सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशभरि साउनदेखि फागुसम्म २१ जना, आव २०७६÷७७ मा १९ जना, २०७६/७८ मा २४ जना, २०७८/७९ मा २१ जना गर्भवतीको ज्यान गएको छ ।

Tags :

प्रकाशित: ११ चैत्र २०७९, शनिबार १२:४६