काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती आएको भन्दै मुलुक अकल्पनीय राजनीतिक द्वन्द्वमा फस्नसक्ने त्राश औल्याएका छन् ।
आइतबार प्रतिनिधि सभामा बोल्दै उनले मुलुकमा अकल्पनीय राजनीतिक द्वन्द्व र कम्पनहरु अनेकौं रंग रुपमा देखिन बाँकी रहेको बताएका हुन् ।
डा. कोइरालाले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती छ। अर्थतन्त्रको निराशाजनक बहस पनि शुरु भइसकेको छ । देशको यस्तो संकट आउँदा बाह्य कारण खोजेर मात्रै नभएई समग्र संकटको कारक हामी स्वयम् नै भएको र समाधान गर्नुपर्ने जिम्मेवारी पनि आफै भएको नैतिक आत्मबोध गर्नुपर्छ ।’
संसद गणितको खेलमात्रै नभएकाले आफ्नो व्यवहार नसुधारे अराजकता बढ्ने चेतावनी दिँदै उनले भने, ‘संसद, सरकार, प्रतिपक्ष सबै एकैठाउँमा उभिएर नागरिकको समस्या समाधान गर्न अगाडि बढ्नुको विकल्प छैन ।’
उनले भने, लोकतान्त्रिक राजनीतिक प्रणालीले यसका पात्रहरुवाट एउटा विशिष्ट मूल्यपद्धति र नैतिक मूल्यको अपेक्षा गर्दछ । राजनीतिक पद्धति जतिसुकै राम्रो भए पनि त्यस अनुरुप हाम्रा व्यवहारहरु भएनन् भने देशमा अराजकताले प्रश्रय पाउने होइन, हाम्रा आजसम्मका राजनीतिक उपलब्धीहरु पनि धरापमा पर्नेछन् ।
काेइरालाले थपे, संसद गणितको मात्र खेल होइन, यो सम्पूर्ण तीन करोड नेपालीको आस्था र आशाको पुञ्ज हुन सक्नुपर्छ । आम नागरिक यो व्यवस्थाले हाम्रो अवस्थामा कुनै परिवर्तन नआएको गुनासो गरिरहँदा हामी त्यसतर्फ सचेत हुने कि नहुने ? मलाई लाग्दछ अब हामी ढिलो नगरी जनअपेक्षा अनुरुप संसद्, सरकार र प्रतिपक्ष सबै एकै ठाउँमा उभिएर नागरिक चिन्तालाई सम्बोधन गर्न अगाडि बढ्नुको विकल्प छैन । हाम्रा आफ्नै विगतका कमीकमजोरीले संघीयता र प्रदेश संरचनाप्रतिको वितृष्णा दिनप्रतिदिन चुलिँदो छ । यो हाम्रो राजनीतिक प्रणालीको असफलताको पहिलो खुड्किलो हो ।
प्रकाशित: १२ चैत्र २०७९, आईतवार १६:३९