काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा नियमावली उल्लंघन गरेको स्वीकार गर्दै माफी मागेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा एमाले सचेतक महेश बर्ताैलाले नियमापत्ति जनाउँदै प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिए पनि उपसभापति खड्काले नियम उल्लंघन गरेकामा सभामुखको ध्यानाकर्षण गराएपछि खड्काले माफी मागेका हुन् ।
एमाले सचेतक बर्तौलाले सत्तारुढ दलकै सांसदले प्रतिनिधिसभा नियमावलीको धज्जी उडाउने काम गर्नु गम्भीर विषय भएको बताए । उनले भने, ‘मैले एउटा नियमापत्तिको विषय उठाउन खोजेको हुँ । भोलिका दिनमा पनि यो विषय काम लाग्छ । यो हाउसमा पटक–पटक मर्यादाविपरीत काम भइरहेको छ ।’
त्यसलगत्तै सभामुख देवराज घिमिरेले यस्तो विषयमा ध्यान दिन सचेत गराएका थिए । सोही विषयमा सभामुखसँग समय माग गरेर उपसभापति खड्काले भने ‘अनदेखाको कारणले माननीयज्यूले उल्लेख गरेअनुसार मैले नियम उल्लंघन गरेँ । त्यसका लागि म क्षमा माग्न चाहन्छु ।’
प्रकाशित: १२ चैत्र २०७९, आईतवार १६:४७