काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुधार्न खोज्दा नसकेको बताएका छन् ।
मिसन ग्रासरुट अभियानका लागि अर्घाखाँची पुगेका ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री बनाएको भोलिपल्टैबाट प्रचण्डको चालमाल ठिक नभएको ओलीको भनाइ छ ।
‘अस्ति आफू पछाडि बसेर सरकार बनाउन खोजियो । मति बिग्रेकाको मति सप्रिन्छ कि भनेर मौका दिन खोजियो । तर, सरकार बनाइदिएको भोलिपल्टबाटै मैले हेरें, चालमाल ठिक छैन,’ ओलीले भने ।
उनले आफूहरूले कम्युनिस्ट पार्टीलाई दुई तिहाइको अवस्थामा पुर्याएको भए पनि जोगाउन नसकेको बताए ।
‘हामीलाई अहिले जालझेल गरेर हटाइयो । आवश्यकता एकातिर थियो, तर संसद्को अंकगणित गलत ढंगले प्रयोग गरेर हटाइयो,’ उनले भने, ‘तर, हामी जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेसनबाट होइन, हामी सिंहदरबारको मूल ढोकाबाट फेरि सिंहदरबार फर्किन्छौँ भन्ने मैले हामीलाई हटाउने बेलामा भनेको थिएँ ।’
अध्यक्ष ओलीले नेपालमा जनताको सबैभन्दा धेरै माया पाउने व्यक्ति आफू भएको पनि बताए । जहाँ पुगेपनि आफूलाई जनताले निकै माया गर्ने उनको भनाइ थियो ।
‘त्यो जोसुकैले प्राप्त गर्दैन, मैले त्यसै कारण आफूलाई भाग्यमानी भन्ने गरेको छु, ठुला–ठुला भनेका देशहरूले लखेट्छन्, ठुला–ठुला शक्ति भनेकाले लेखट्छन् । तर जनताको माया सबैभन्दा बढी कोही व्यक्तिले नेपालमा पाएको छ भने मैले पाएको छु, त्यो सौभाग्य मलाई मिलेको छ ।’
प्रकाशित: १२ चैत्र २०७९, आईतवार १६:५७