राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल


तरुण पत्रिका

१३ चैत्र २०७९, सोमबार ११:२४

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा दिवंगत पूर्वमन्त्री नवीन्द्रराज जोशीको सालिक अनावरण गर्दै उनले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका हुन् ।

‘राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ । जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरुको सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्वता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ,’राष्ट्रपति पौडेलले भने, ‘जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुका सुख दुःख बुझ्ने नवीन्द्र यही दर्शनबाट प्रभावित थिए ।’

राष्ट्रपति पौडेलले मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित, सिद्धान्तनिष्ठ कार्यकर्ताका रुपमा जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रूपमा आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकासमा पुर्‍याएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने बताए ।

‘जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुको सुख, दुःख बुझ्ने जोशी समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत व्यक्तित्व हुनुहुन्थ्यो’, उनले भने ।

राष्ट्रपति पौडेलले जोशीको असामयिक निधन मुलुक, नेपालको प्रजातान्त्रिक आन्दोलन, एउटा सिद्धान्तनिष्ठ राजनीतिक संगठन, जोशी परिवार र आफ्नो लागि अपूरणीय क्षति भएको बताए ।

‘मैले नवLन्द्रलाई सन्निकटमा रहेर चिन्ने र बुझ्ने मात्र होइन, आफूले सुझाव, साथ र सहयोग गरेर एउटा जागरुक, उत्साही र कर्मठ व्यक्तित्व निर्माणमा सदैव उत्प्रेरित गर्ने अभिभावकका रूपमा जीवनपर्यन्त बाटो देखाउने मौका पाएँं,’ उनले भने ।

जोशीकी पत्नी एवं सांसद सपना राजभण्डारीले जोशीले लिएको राजनीतिक लक्ष्य पूरा गर्न आफू लाग्ने प्रतिबद्धता व्यक्त गरिन् । प्रतिमा निर्माणले जोशीलाई जीवन्त राख्ने उनको भनाइ थियो ।

सोही अवसरमा राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्दोलनका शहीद निर्गुण स्थापितको शालिकमा समेत माल्यार्पण गरे ।

प्रकाशित: १३ चैत्र २०७९, सोमबार ११:२४