काठमाडाैँ- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ ।
निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो ।
क्यानका महानिर्देशक प्रदीप अधिकारीले निगमले नियमित उडानका लागि मलेसियाको नागरिक उड्डयन प्राधिकरण समक्ष समयमै आवश्यक कागजात नबुझाउँदा उडानको अनुमति नपाएको जानकारी दिए ।
निगमले नियमित उडानको अनुमति नपाएपछि अहिले क्यान समक्ष चार्टर्ड उडानका लागि अनुमति माग गरेको छ । ‘निगमसमक्ष काठमाडौँ–मलेसियामा सातामा १४ वटासम्म उडान गर्ने सुविधा छ,’ उनले भने, ‘तर निगमले हेलचेक्रयाइँ गरी पुरानो कागजात पठाएकाले उडान अनुमति पाएको छैन ।’
निगमसँग सातामा ७ वटा नियमित उडान गर्न सक्ने प्रावधान बाँकी रहँदा पनि चार्टर्ड उडान किन गर्नु परेको ? भन्दै स्पष्टीकरण सोधिएको उनको भनाइ छ ।
निगमका प्रवक्ता अर्चना खड्काले मलेसियाको नागरिक उड्डयन प्राधिकरण समक्ष ‘समर सेड्युल’का लागि मार्च २८ देखि उडान अनुमति माग गरेको बताइन् । तर प्रक्रियामै रहेकाले अनुमति प्राप्त नभइसकेको उनको भनाइ छ ।
नेपाल र मलेसियाबीच सन् २०१५ अप्रिल ३ मा द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । सोहीअनुसार नेपाली वायुसेवा कम्पनीले मलेसियामा सातामा २८ वटा उडान गर्न सक्छन् ।
प्रकाशित: १३ चैत्र २०७९, सोमबार १६:५३