गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारबाही गर्न मधेसी आयोगकाे माग


तरुण पत्रिका

१३ चैत्र २०७९, सोमबार १७:०९

काठमाडौँ– मधेसी आयोगले गाईको मासु बेच्ने पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकामा रहेको चिकेन स्टेसनलाई कारबाही गर्न माग गर्दै गृह मन्त्रालयलाई पत्र पठाएको छ ।

हिन्दु परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी सामाजिक सञ्जालमार्फत् प्रचार गरेपछि विभिन्न हिन्दु संघ संगठनहरूले मधेसी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारबाही गर्न उजुरी दिएका थिए ।

उजुरीपछि आयोगका अध्यक्ष डा विजयकुमार दत्तको निर्देशनमा आयोगले गृह मन्त्रालयलाई चिकेन स्टेसनलाई कारबाही गर्न पत्राचार गरेको हो।

आयोगका अध्यक्ष डा दत्तले राष्ट्रिय जनावर तथा हिन्दु धर्मावलम्बीले पूजा गर्ने गाईको मासु बेच्नु गैरकानुनी क्रियाकलाप रहेको बताउँदै आयोगले यो विषयमा तुरन्त कारबाही गर्न गृहलाई पत्र पठाइएको बताएका छन्।

प्रकाशित: १३ चैत्र २०७९, सोमबार १७:०९