कार्यकर्तालाई काँचुली फेरेको सर्पजस्तै फुर्तिलो बन्न ओलीकाे निर्देशन

'एमाले सिंहकाे बच्चा हाे'


तरुण पत्रिका

१३ चैत्र २०७९, सोमबार १७:१६

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँचुली फेरेको सर्पजस्तो फुर्तिलो बनेर संगठन निर्माणमा लाग्न आग्रह गरेका छन् ।

‘मिसन ग्रासरुट’अन्तरगत गुल्मीको तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी सदस्यभन्दा कम मत आउने परिपाटी अन्त्य गर्न संगठन निर्माणमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘पार्टीको सदस्यता नविकरण घरमै उपस्थित भएर र संगठित हुने व्यक्ति पनि आफैँ उपस्थित भएर गर्नसके मात्रै प्रतिबद्ध बन्न र बनाउन सकिन्छ ।’ उनले एमालेले परिणाममा ५१ प्रतिशत ल्याउने गरी मिसन ग्रासरुट सफल पार्नुपर्ने बताए ।

‘देशलाई डुब्न दिनुहुँदैन । विदेशीको लाचार छाया बन्न दिनुहुँदैन । हाम्रा इतिहास महान् छन्,’ ओलीले भने, ‘विरोधीसँग एक भएर सामना गर्नुहोस्, साथीभाइसँग केको गनगन ?’

यस्तै अध्यक्ष ओलीले एमाले सिंहको बच्चा भएको बताउँदै कोहीसँग नडराउने बताए । अर्घाखाँचीमा आयोजित मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै उनले अमरसिंह थापाको भनाइ पनि स्मरण गर्दै भने, ‘नेकपा एमाले सिनो खाने स्यालको बच्चा होइन । बाघको डमरु हो । सिंहको बच्चा हो । शेरको बच्चा हो ।’

उनले एमाले एक्लैसँग ९ लाख बढी सदस्य रहेको र विभिन्न जनवर्गीय संगठन समेत रहेको बताए । तर ती सबैमा खिया लागेको भन्दै उनले भने- ‘पार्टीमा कमरेडहरू खिया लागेको पाइयो । पार्टी भुत्ते भएको पाइयो । धार नभएको । खिया हटाएपछि मात्रै यो काम लाग्ने हुन्छ ।’ उनले घोडा नकुदाए कुद्न बिर्सिने भन्दै भुत्ते भएकाे पार्टीको खिया हटाउनुपर्ने बताए ।

यस्तै, अध्यक्ष ओलीले माधवकुमार नेपाल पुँजीवादीको पुच्छर बनेको आरोप लगाएका छन् । उनले नेता नेपालप्रति व्यंग्य गर्दै पुँजीवादीहरूको पुच्छर र फाटोवादी प्रवृत्ति ढाक्न एकीकृत थपेर समाजवादी भन्दै हिँडेको कटाक्ष गरे ।

देशले नाकाबन्दीको सामना गरिरहेका बेला माधव नेपालले संसद्मा देश डुब्नै लाग्यो बचाउन कोही त आऊ भनेर पार्टी फुटाउन सुरु गरेको आरोप लगाए । उनले कांग्रेसको बदमासी र बेइमानी बुझेर पनि बहुमत नहुँदा सरकारबाट बाहिर रहनुपरेको भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराए ।

Tags :

प्रकाशित: १३ चैत्र २०७९, सोमबार १७:१६