पर्यटन विकासका लागि दक्ष जनशक्ति विकास गर्नुपर्छ : प्रधानमन्त्री


तरुण पत्रिका

१३ चैत्र २०७९, सोमबार २०:२८

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन क्षेत्रको विकासका लागि दक्ष जनशक्ति उत्पादन गर्नु आवश्यक भएको बताएका छन् ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र संवद्र्धन गर्दै पर्यटनको विकासका लागि उच्चस्तरको गुणस्तर भएका दक्ष जनशक्ति विकास गर्नुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले संस्थामा विदेशी विद्यार्थीहरूसमेत आएर पढ्न लालायित हुने वातावरण निर्माणका लागि पहल गर्न सञ्चालक समितिलाई निर्देशनसमेत दिए ।

उनले भने, ‘यसका लागि सुरुमा सार्क र बिमस्टेकलाई लक्षित गरी त्यहाँका विद्यार्थीलाई आर्कषण गर्ने कार्यतर्फ लाग्नु उपयुक्त देखिन्छ । विदेशी विद्यार्थीहरूलाई नेपालमा ल्याएर पढाउन के–कस्ता अप्ठ्यारा छन्, तिनको समाधान गर्न कसरी सकिन्छ भन्नेबारेमा छलफल गरी निकास निकाली अघि बढ्न निर्देशन गर्दछु ।’

अहिले शैक्षिक संस्थाहरू विद्यार्थी उत्पादन गर्ने थलोका रूपमा मात्र सीमित भएको भन्दै उनले शैक्षिक संस्थाहरू नयाँ ज्ञान र उद्योगलाई चाहिने नयाँ सोच राख्न जनशक्ति उत्पादन गर्नेतर्फ लाग्नुपर्ने बताए ।

आफ्नै कार्यकालमा संस्थालाई आवश्यक पर्ने ऐन संसदबाट अनुमोदन गराउन आवश्यक प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको पनि उनले बताए ।

नेपालका ७५३ वटै स्थानीय सरकारसँग समन्वय गरी त्यहाँको पर्यटन विकासका लागि नाथमको विज्ञता प्रयोग गरी अघि बढ्न नाथमको कार्यक्रमलाई थप सुदृढ गर्न पनि सञ्चालक समिति र कर्मचारीहरूलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिए ।

प्रकाशित: १३ चैत्र २०७९, सोमबार २०:२८