मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै


तरुण पत्रिका

१४ चैत्र २०७९, मंगलवार १०:५३

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम कसरतमा छन् । यसका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको छलफलमा सत्ता गठबन्धन दलको बैठक बोलााउने सहमति भएको थियो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले कुन दललाई कति मन्त्रालय दिने भन्ने प्रस्ताव गर्ने बताइएको छ । कुन पार्टीले कति र कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्री प्रचण्डले ६ चैतमा दोस्रो पटक विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ । तर, दलहरूबीच ठोस सहमति हुन नसक्दा मूर्त रूप पाउन सकेको छैन ।

आजको सत्ता गठबन्धन बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमबारे पनि छलफल हुनेछ । पहिले नै तयार गरिएको न्यूनतम साझा कार्यक्रमलाई परिमार्जन गर्न लागिएको हो ।

सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेर दलका शीर्ष नेताहरूले हस्ताक्षर गरेपछि त्यही आधारमा सरकारमा जाने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ छ ।

आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा सहभागी गराउने प्रयासमा प्रचण्ड छन् । तर, दलहरूको दाबीअनुसार मन्त्रालय संख्या नै अपुग हुने भएपछि प्रचण्ड अप्ठ्यारोमा छन् । प्रचण्डले भने दलहरूलाई दिनजे मन्त्रालय र संख्यासमेत लगभग टुंगो लगाएको स्रोतको र संख्यासमेत लगभग टुंगो लगाएको स्रोतको र संख्यासमेत लगभग टुंगो लगाएको स्रोतको दाबी छ ।

गठबन्धनका दलमध्ये नेपाली कांग्रेसले १ राज्यमन्त्रीसहित ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्रालय लिने लगभग सहमति भएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई १÷१ राज्यमन्त्रीसहित ३÷३ मन्त्रालय, जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई २ मन्त्रालय दिने प्रचण्डको तयारी छ ।

जनमत, लोसपा, नागरिक उन्मुक्ति, आमजनता, राष्ट्रिय जनमोर्चासहित साना दललाई समेत १÷१ मन्त्रालय छुट्याइएको बताइएको छ ।

कुन दलबाट को ?

नेपाली कांग्रेसबाट सरकारमा जाने व्यक्तिको नाम टुंगो लागिसकेको छैन । आज बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले नामावली टुंगो लाग्ने बताइएको छ ।
यस्तै, माओवादी केन्द्रले २ मन्त्रीलाई हेरफेर गर्ने भएको छ । भौतिक पूर्वाधार निर्माण तथा यातायात व्यवस्थामन्त्री नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिने र सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ऊर्जा र शहरी विकास मन्त्रालयमध्ये एउटा दिने तयारी भएको बताइएको छ ।

नेकपा एस उपाध्यक्ष एवं संस्थापक महासचिव डा. वेदुराम भुसालको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । उपमहासचिव प्रकाश ज्वाला र भानुभक्त जोशी पनि मन्त्री बन्ने सूचीमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ३ जनालाई मन्त्री बनाउने भएको छ । डोलप्रसाद (डिपी) अर्याल, सोविता गौतम, विराजभक्त श्रेष्ठ, मनीष झा र तोसिमा कार्कीमध्ये ३ जना मन्त्री हुनेछन् । यद्यपि, रास्वपा पहिला पाएको मन्त्रालय पाए मात्रै सरकारमा जाने अडानमा छ ।

लोसपाबाट शरत्सिंह भण्डारी, जसपाबाट अशोक राई, राजकिशोर यादव, प्रदीप यादवको मन्त्री हुने चर्चा छ । यस्तै, आम जनता पार्टी अध्यक्ष प्रभु साह र स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहसमेत मन्त्री हुने लाइनमा छन् ।

प्रकाशित: १४ चैत्र २०७९, मंगलवार १०:५३