सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा


तरुण पत्रिका

१४ चैत्र २०७९, मंगलवार ११:०५

तनहुँ– तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ । यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो ।

गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठनपाठन गराउने निर्णय गरेको थियो । गाउँपालिकाको वडा नं ४, ५ र ६ का सरकारी विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

‘पहिलो चरणमा दुर्गम क्षेत्रका बासिन्दालाई प्राथमिकता दिन लागेका हाँै’, उनले भने, ‘स्वास्थ्य बीमा गरेपछि नागरिकले रु एक लाख बराबरको निःशुल्क उपचार सेवा लिन सक्नेछन् ।’

स्वास्थ्य बीमा गर्दा प्रतिपरिवार रु तीन हजार पाँच सय शुल्क लाग्ने छ । स्वास्थ्य बीमा गरेपछि साथमा पैसा नहुँदा दुर्गम र गरिब परिवारले सहजरूपमा उपचार पाउने विश्वास गरिएको छ ।

सामुदायिक विद्यालय सुधार अभियानअन्तर्गत आबुखैरेनीले बाल विकासदेखि कक्षा ५ सम्मका छात्रछात्रालाई निःशुल्क ट्रयाकसुट, झोला, जुत्ता–मोजा तथा टिसर्टलगायका सामग्री वितरण थालेकोे अध्यक्ष चुमानले बताए ।

त्यसैगरी विषयगत पर्याप्त दरबन्दी पठाउन गाउँपालिकाबाट नै आफ्नै स्रोतमा शिक्षक परिचालनका लागि आबुखैरेनी क्याम्पसका युवा परिचालन गर्ने तयारी थालिएको छ । सामुदायिक विद्यालयको निरन्तर अनुगमन गरी गुणस्तरीय शिक्षामा योगदान गर्ने विद्यालयलाई प्रोत्साहन गर्नेलगायतका कार्यक्रम रहेको उनले बताए ।

 

प्रकाशित: १४ चैत्र २०७९, मंगलवार ११:०५