‘माइतीघरका आन्दोलनकारीलाई खुलामञ्चमा शिविर बनाएर राख्ने तयारी शंकास्पद’


तरुण पत्रिका

१४ चैत्र २०७९, मंगलवार ११:०५

काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न लागिएकोप्रति शंका व्यक्त गरेका छन् ।

मेयर बालेनले खुलामञ्च निषेधित क्षेत्र नभएको भन्दै माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी भने शंकास्पद भएका बताएका हुन् ।

बालेनले मिटर ब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पीडितहरूको माग छिटोभन्दा छिटो मन्त्रिपरिषद्बाट सम्बोधन गर्नुपर्ने जनाए ।

May be an image of 5 people, people standing and outdoors

मिटर ब्याज पीडितहरूलाई खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै महानगरपालिकाको आलोचना भइरहेको बेला मेयर साहले सो धारणा सार्वजनिक गरेका हुन् ।

‘खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन,’ मेयर बालेनले फेसबुकमा लेखेका छन्, ‘तर माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएका तयारीहरू शंकास्पद छन् ।’

‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायका लागि हो । शिविर बनाएर महिनौँ वा वर्षौं बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केही घन्टामा न्यायको अनुभूति दिलाउनुपर्ने हो । यसो नगरी सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ,’ उनले भनेका छन् ।

बर्दिवासबाट १२ दिन पैदल हिँडेर सोमबार काठमाडौँ आइपुगेका मिटर ब्याज पीडितहरू खुलामञ्चभित्र प्रवेश गर्न खोज्दा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले रोकेका थिए ।

प्रकाशित: १४ चैत्र २०७९, मंगलवार ११:०५