विराटनगर– नेपाल पत्रकार महासङ्घ मोरङले यस वर्षको ‘षष्टिका बस्नेत सूचनाको अधिकार’ पुरस्कार सूचनाको हकको क्षेत्रका अभियन्ता काशीराज दाहाल र पत्रकार हरि अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालको अध्यक्षतामा मङ्गलबार बसेको कार्यसमितिको १६ औँ बैठकले रु ५० हजार ५१ राशिको उक्त पुरस्कार दाहाल र रु १५ हजार ५१ राशिको प्रोत्साहन पुरस्कार पत्रकार अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको हो ।
‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’बाट यसअघि विनय कसजू, तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा र गजेन्द्र बुढाथोकी पुरस्कृत भइसकेका छन् ।
यस्तै ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कारबाट राजु श्रेष्ठ, गणेश लम्साल, मोहनकाजी न्यौपाने र देवनारायण साह पुरस्कृत भइसकेका छन् ।
दुवै पुरस्कार नेपाल पत्रकार महासङ्घ मोरङले स्थापना दिवसका अवसरमा हरेक वर्ष चैत १६ गते वितरण गर्दै आएको छ ।
कोशी प्रदेशका प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा विराटनगरमा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण कार्यक्रम र सोही दिन बिहान सुन्दरहरैचाको विराटचोकमा प्रभातफेरि निकाल्ने निर्णय गरिएको सचिव नेत्र पी अधिकारीले जानकारी दिए ।
उनका अनुसार कार्यसमिति बैठकले नेपाल पत्रकार महासङघको सदस्यता नवीकरण गर्न बाँकी रहेका सम्पूर्ण साधारण सदस्यलाई चैत मसान्तभित्रमा सदस्यता नवीकरण गर्न आग्रह गर्ने निर्णय समेत गरेको छ ।
प्रकाशित: १४ चैत्र २०७९, मंगलवार १४:०८